Posted by: shilauti | November 7, 2009

मलाई Male Chauvinist भन्यो

 dfvpfvsf_19fcgmnwc9_b                      (मधु कोइराला)

उसले मलाई Male Chauvinist भन्यो

Terense D’costa ले

“All of you on the last bench are male chauvinists” उसले भनेको थियो

मैले उसलाई केही भनिन तेतिबेला

उसको सानो खोपडिले म के हूँ बुझ्दैन

उसको रुढिवादले मेरो आधुनिकतालाई ओगट्न सक्दैन

आज उसको गोब्रे मगजको तन्तु तन्तु हल्लने गरी

म उसलाई बताउँदैछु म को हूँ

एकपल्ट त उ मुर्च्छामा डङ्रङ्ङ पर्नेछ मेरो कुराले

अनि फेरी सम्हालिएर पढ्नेछ मेरो आधुनिकतालाई

किनकी यो आधुनिकता “Einstein को Relativity” भन्दा कठिन हुनेछ उसलाई

यो फलामको चिउराभन्दा कठिन हुनेछ चपाउनलाई

म Male Chauvinist रे उसको विचारमा

प्रकृतिले महिलालाई एउटा कुरामा बाध्य बनाएको छ

बच्चा जन्माउन र उसलाई दूध चुसाउन

बच्चै नजन्माउने अधिकार उसमा छ

तर बच्चा चाहेको खण्डमा त्यो उसले नै भोग्नुपर्छ

पुरुषले तेसमा कुनै भूमिका निभाउन सक्दैन, तर

तर बाँकीका सबै काममा उसले उनलाई सघाउन सक्छ

यदि सक्दैन भने उसलाई पति बन्ने कुनै हक छैन

फुर्सतमै भए पनि दिनभरी उ बरु हल्लेर बस्छ तर

श्रीमतीलाई सघाउँदैन भने

उसलाई रातमा उनको न्यानो स्पर्शको प्रतिक्षा गर्ने हक छैन

कुन मुखले उसले उनलाई आलिङ्गनमा चुम्मा साट्दै “I love you” भन्न सक्छ?

भन्छन्, तर तेसको कुनै औचित्य छैन

कुनै नोकर्नीलाई जस्तो व्यवहार गरेर फेरी मायाको ढोङ

यस्तै छ वर्तमान समाज

नारीहरु जन्मजातै पतिका नोकर छन्

उनीहरू जन्मजातै दासी छन्

घरमा काम गर्ने मान्छेको खाँचो भयो,

विवाह गर्न पर्‍यो भन्ने चलन छ

छि: कस्तो सोच, कति कहालिलाग्दो कहानी

नारी भएर जन्मनु नै पाप जस्तो भयो

तर यो त झन् ठूलो धर्म हो

पुरुषहरु आफ्नो सन्तानलाई जन्म दिन समेत सक्दैनन्

उनीहरु कति टाढा छन् आफ्नो सन्तानबाट समेत

यो सुअवसर त केवल महिलालाई छ

तर समाज अन्धो छ

यहाँका मान्छेहरु विवेकहीन छन्

तेसैले त नारीलाई आजसम्म घरकी नोकर्नी बनाइएको छ

तर यसलाई म तोड्दैछु सदा सदाका लागी

म यसलाई जलाएर खरानी पार्न चाहन्छु

म यसलाई मार्न चाहन्छु

म यसलाई बमले उडाइदिन चाहन्छु

नारीको कुरा गर्ने मान्छेलाई म मान्छे भन्दिन

गुको किरा भन्छु

जसले नारीलाई सम्मान गर्छ तेसलाई भगवान् भन्छु

ए मान्छे हो सब जनाले कान झीरले खोतलेर सुन

नारी नोकर्नी हैन, साक्षात् भगवती हो

नारी खेलौना हैन, सृष्‍टिको आधार हो

म वर्तमान धारलाई बदल्न चाहन्छु

ताकि अबका छोरोछोरीलाई थाहै नहोस् दुनियाँ कस्तो थियो

उनीहरुको जन्म स्वर्गमा होस्

जहाँ, उनीहरुलाई लिटो ख्वाउन उनीहरुका आमा मात्र हैन

बुवा पनि आउनेछन्

उनीहरुको आची धुन आमालाई हतारिन  पर्नेछैन

बुवाले धोइदिनेछन्

जहाँ, दिनभरीको थकाइले लखतरान परेकी उनीहरुको आमालाई

घिच्चिंदै भाँडा मस्काउन बाध्य बनाइनेछैन

बुवाले गर्नेछन् त्यो

जहाँ, ओछ्यानमा आमाले प्रतिक्षा गर्नेछिन् बुवाको

दोहोरो हुनेछन् सबै कुरा

एउटै हुनेछ दर्जा

या दुबै नोकर या दुबै मालिक

दोहोरो हुनेछ भक्ति

दोहोरो हुनेछ माया

दुबैले पूजा गर्नेछन् एक अर्कालाई

दुबैले ढोग्नेछन् एक अर्कालाई

दुबैले खुट्टा छुनेछन् एक अर्काको

प्रेममा, श्रध्दामा, भक्तिमा

अनि दुबै विलय हुनेछन् साँच्चैको स्वर्गमा।।

 


Leave a response

Your response:

Categories